MPDSR

GOVERNMENT OF NEPAL

MINISTRY OF HEALTH AND POPULATION

DEPARTMENT OF HEALTH SERVICES

FAMILY WELFARE DIVISION

MPDSR- Maternal & Perinatal Death Surveillance and Response

परिचय

मातृ तथा पेरिनेटल मृत्यु निगरानी तथा प्रतिकार्य (एम.पि.डी.एस.आर) एउटा नियमित निगरानी प्रक्रिया हो जसले स्वास्थ्य सुचना प्रणालीका साथै गुणस्तर सुधार गर्ने प्रक्रियालाई स्थानिय तह देखि राष्ट्रिय तह सम्म जोडेको हुन्छ । यसले मातृ तथा पेरिनेटल मृत्यु कम गर्न सकिने उपाय र कारणहरूको नियमित पहिचान गर्ने, सुचना दिने, गणना गर्ने कार्यका साथ साथै प्राप्त सुचनाहरूको प्रयोगबाट भविष्यमा सम्भावित मृत्युहरूलाई बचाउन गर्नु पर्ने कार्य जस्ता कुराहरूलाई समावेश गरेको हुन्छ । जनस्वास्थ्य कार्यक्रम सुधार गर्न, योजना तर्जुमा सहित कार्यान्वयन तथा मुल्यांकन गर्न निगरानीलाई राम्रो औजारको रूपमा लिइन्छ । बचाउन सकिने हरेक मातृ र पेरिनेटल मृत्यु घटाउनु नै मातृ तथा पेरिनेटल मृत्यु निगरानी तथा प्रतिकार्यको प्रमुख लक्ष्य हो । मातृ तथा पेरिनेटल मृत्यु निगरानी तथा प्रतिकार्यको प्रतिकार्य शब्दले निगरानीको कार्यान्वयन पक्षलाई जोड दिएको छ ।

हाल MPDSR कार्यक्रम अन्तर्गत समुदाय स्तरमा मातृ मृत्यु भएमा मृत्युका कारण पहिचान गर्न Verbal Autopsy गरि प्रतिकार्य गरिन्छ भने अस्पताल स्तरमा मातृ मृत्यु र पेरिनेटल मृत्यु को समिक्षा गरि प्रतिकार्य गरिन्छ ।

कार्यक्रमको लक्ष्य

हरेक मातृ तथा पेरिनेटल मृत्युका आवश्यक सुचनाहरू समुदाय तथा अस्पताल तहबाट प्राप्त गरी ती सुचनाहरूको प्रयोगले रोक्न सकिने मातृ तथा पेरिनेटल मृत्युलाई निवारण गर्न र स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्दि गर्न जनस्वास्थ्य क्रियाकलापलाई निर्देशित गर्नु तथा तिनीहरूको प्रभावलाई अनुगमन गर्नु यस कार्यक्रमको लक्ष्य हो ।

कार्यक्रमको उद्देश्य

१. अस्पताल तथा समूदायमा हुने मातृ तथा पेरिनेटल मृत्यु पहिचान गरि मृत्युका कारण र सेवा सम्वन्धि सही तथ्यांक संकलन गर्ने ।

२. मातृ तथा पेरिनेटल मृत्युको अवस्थाको निरन्तर निगरानी गरी मृत्युको जनसांखिक तथा सामाजिक पक्षहरू विष्लेषण गर्ने र जोखिमयुक्त समूह पत्ता लगाउने ।

३. मातृ तथा पेरिनेटल मृत्यु न्युनिकरण गर्न आवश्यक क्रियाकलापहरू पहिचान गरि कार्यान्वयनका लागि सुझाव दिने ।

४. सरोकारबालाहरुलाई मातृ तथा पेरिनेटल मृत्युका बारेमा जानकारी दिने तथा समुदायमा चेतना अभिवृद्धि गरी उत्तरदायीत्व अभिवृद्धि गर्ने ।

५. कार्यक्रमले दिएका सुझावहरूको कार्यान्वयनको अवस्थालाई अनुगमन गरी उपलव्ध श्रोत साधनको समुचित परिचालन गरि कृयाकलाप संचालन भइरहेको सुनिश्चित गर्ने ।

६. मातृ मृत्यु तथा पेरिनेटल मृत्यु सम्बन्धी तथ्यांकमा सुधार गरि व्यक्तिगत घटना दर्ता प्रणाली तथा पञ्जिकरण (Civil Registration and Vital Statistics, CRVS) मा सहयोग पुर्याउने ।

७. मातृ तथा पेरिनेटल मृत्यु सम्बन्धी अनुसन्धानमुलक कार्यलाई प्राथमिकता दिने तथा सहयोग गर्ने ।